हकप्रदमा नबिकेको अप्पर तामाकोशीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्रीका लागि पुस १३ देखि २९ गतेसम्म आवेदन माग गरिएको थियो । आवेदन म्याद सकिएको १८ दिन बितिसक्दा पनि अझै लिलामी सेयर बाँडफाँट हुन सकेको छैन ।
माघ ५ गते शिलबन्दी बोलपत्रहरु खोलिएको थियो । शिलबन्दी बोलपत्र खोलेर प्रारम्भिक कटअफ प्राइस १४६ रुपैयाँ निर्धारण भएको थियो । कम्पनीले आवेदकबाट करिब १३ अर्ब रुपैयाँ संकलन गरेको छ । सो रकममध्ये करिब १० अर्ब रुपैयाँ सेयर नपाउनेहरुलाई फिर्ता गर्नुपर्नेछ । यो रकम कम्पनीको खातामा गइसकेको रकम हो । आईपीओमा जस्तो आवेदकको खातामा ‘ब्लक’ भएको होइन ।
बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले भने ठूलो परिमाणको आवेदन भएको र सबैको भुक्तानी राफसाफमा समय लागेकाले बाँडफाँट अवधि लम्बिएको जनाएको छ । शिलबन्दी बोलपत्र आवेदन भौतिक रुपमै संकलन गरिन्छ । ‘काठमाडौंबाहिर पनि संकलन केन्द्र भएकाले सबै आवेदन काठमाडौंमा जुटाउन ३र४ दिन लाग्यो, शिलबन्दी आवेदन खोल्न, त्यहाँ भएको सबै चेकहरु जम्मा गर्न समय लाग्यो, त्यसपछि रिकन्सिलेसनको काममा अरु समय लाग्यो’ क्यापिटलका सीईओ विजयलाल श्रेष्ठले भने ।
आवेदकले आवेदनमा तोकेको रकम क्रमिक रुपमा सिस्टममा आवद्ध गर्ने काम नै ‘रिकन्सिलेसन’ हो । ‘३० हजार आवेदकको करिब साढे १३ अर्ब रकम रिकन्सिलेसन गर्न समय लाग्छ’ उनले भने ।
रिकन्सिलेसनको काम सकिसकेकाले आगामी सोमबारदेखि सेयर नपाउनेहरुको खातामा पैसा हालिदिने सीईओ श्रेष्ठले बताए । ‘आगामी सोमबारदेखि नै हामीले ग्राहकको खातामै पैसा हालिदिनेछौं, २र३ दिनभित्र सबैको खातामा पैसा पठाइसक्छौं’ उनले भने ।
भुक्तानी राफसाफका क्रममा कतिपय गुडफर पेमेन्ट चेक पनि बाउन्स भएको, कनेक्ट आईपीएसबाट हालेको पैसा पनि खातामा नआएको जस्ता समस्याहरु झेल्नुपरेको उनले बताए । ‘पैसा हालेको प्रमाण छ, तर पैसा खातामा आएको छैन, पछि हामीले आवेदकलाई फोन गरेर बुझ्दा रकम फिर्ता गएको जानकारी पनि पायौं, लक्ष्मी र सनराइज क्यापिटल मर्ज भएपछिका सबै कर्मचारी पूर्ण समय खट्दा पनि समय लाग्यो’ श्रेष्ठले भने ।
लिलामी सेयर बिक्रीमा अनलाइन आवेदन प्रक्रिया भएमा छिटो र सहज हुने जानकारहरु बताउँछन् । तर यसलाई अनलाइन प्रणालीमा लैजान सकिएको छैन । आईपीओ, एफपीओ, हकप्रदजस्ता निष्कासनमा अनलाइन प्रणाली छ तर लिलामी बोलकबोलमा शिलबन्दी आवेदन नै दिनुपर्छ ।
सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले अनलाइन प्रणालीबाट लिलामी बिक्री गर्ने सम्बन्धमा कुनै नियम कानुन नरहेको र यसले गोपनियता पनि नहुने सम्भावना रहेकाले अनलाइन प्रणाली अवलम्बन गर्न नसकिएको बताए ।
समयमै आवेदकलाई रकम फिर्ता गर्नु विक्री प्रवन्धकको जिम्मेवारी हुने उनले बताए । ‘माथिल्लो तामाकोशीका हकमा यदि १४६ रुपैयाँ कटअफ प्राइस हो भने त्योभन्दा तलको मूल्य तोकेर आवेदन दिएकाहरुलाई कम्पनीले छिटो रकम फिर्ता गरिदिनुपर्ने हो’ आचार्यले भने ‘यसमा यति धेरै समय लगाउनु बिक्री प्रवन्धकको कमजोरी हो

 

तपाईको प्रतिक्रिया