नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले उद्यमी बन्न चाहने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यवसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवाअन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रबारका दिन पिच–नीक सेवा संचालनमा ल्याएको छ ।
कम्पनीले प्रत्येक उद्यमीहरु त्था उद्यमी बन्न चाहनेहरुबाट उनीहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यवसायिक विचारहरुलाई छानीे व्यवसायिक सोचलाई वास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ ।
साथै कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको विशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरुमार्फत पनि उत्तम व्यवसायिक विचार र नवीनतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस् वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्थामार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ ।
यो सेवा प्रायजसो सुरुवात र हुर्कने अवस्थामा रहेका कम्पनीहरूका लागि आवश्यक हुन सक्छ । भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछ ।
यो सेवाअन्तर्गत बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यवसायिकको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरूद्वारा पूँजीको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।
त्यस्तै, प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी –व्यक्तिगत लगानी) को व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ भने यस अन्तर्गत व्यवसायको विकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरी व्यवसायीहरुको व्यवसाय संचालनको लागि सहजिकरण तथा गुणात्मक मूल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ ।
विगतमा यस कम्पनीबाट संचालन गरिएका विभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिएका लगानीकर्ताहरु, उद्यमीहरु, तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायी र उद्यमीहरुले आफ्नो विचारहरु यस योजनाअन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबार कम्पनीमा खडा गरिएको पिच–नीक डेस्कमा सम्पर्क गरी बिना कुनै शुल्क आफ्नो व्यवसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गरी आफूले सोचे अनुसारको व्यवसाय संचालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
व्यवसायिक सोच भएका व्यवसायी तथा उद्यमीहरुले पनि यसबाट पूर्ण रुपमा फाइदा लिने भन्ने कम्पनीले विश्वास लिएको जनाएको छ । महिनाको अन्तिम शुक्रबार कुनै कारणबस विदा परेमा लगत्तैको अर्को कार्य दिनमा यस कार्यक्रम सञ्चालन हुने नबिल ईन्भष्टमेण्टले जनाएको छ ।
यस प्रकारको सेवा प्राप्त गर्न चाहने उद्यमीहरुले यस कम्पनीको फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सन नम्बर १५६, १६२) मा सम्पर्क गर्न वा https://bit.ly/3PCvc5V मा क्लिक गरी आवश्यक विवरण भर्न सकिनेछ ।