नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा रहेका बढी तरलता व्यवस्थापन गर्ने उद्देश्यले ९० अर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग गरिने अल्पकालीन मौद्रिक उपकरण ‘निक्षेप संकलन’ मार्फत ४२ दिनका लागि सो रकम संकलन गर्न लागेको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता प्रशस्त मात्रामा रहेको र त्यसले बजार ब्याजदरमा दबाब सिर्जना गरेको पृष्ठभूमिमा राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही क्रममा आइतबार पनि बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्ने घोषणा गरिएको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ, जसका लागि आज मध्यान्ह ३ बजेदेखि बोलकबोल खुला हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने क्रममा रकम ५ करोड रुपैयाँका गुणात्मक भागमा दिनुपर्ने व्यवस्था गरिएको छ।

यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन सक्नेछन्। यसका साँवा तथा ब्याज मंसिर २१ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकले पछिल्लो समय बजारमा उपलब्ध बढी तरलता सन्तुलनमा ल्याउन र मौद्रिक नीति अनुसारको लक्ष्य कायम राख्न यस्ता निक्षेप संकलनका कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया