कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले यस अवधिमा १ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको थियो।

कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै नाफा आर्जन सम्भव भएको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३६८.७५ प्रतिशतले बढ्दै ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ।यस्तै, कम्पनीले यस अवधिमा ५ लाख ३५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च भने बढेको देखिन्छ। अघिल्लो आवमा १६ लाख ३४ हजार रुपैयाँ रहेको वित्त खर्च समीक्षा अवधिमा बढेर २९ लाख ५५ हजार रुपैयाँ पुगेको छ।यस अवधिमा कम्पनीको रिजर्भ पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आवमा २ करोड ८५ लाख रुपैयाँ रहेको रिजर्भ बढेर ४ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.३६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०.६३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (P/E Ratio) १९७.७७ गुणा तथा तरलता अनुपात ०.९८ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया