प्रतिनिधिसभाको सभामुख पदका लागि निर्वाचन चैत २२ गते आइतबार हुने भएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो भने मनोनयन दर्ता चैत २० गतेका लागि तोकिएको छ। निर्वाचनकै दिन पदवहाली हुने पनि जनाइएको छ।

संघीय संसद सचिवालयको आह्वानमा बसेको सर्वदलीय बैठकले तयारीसम्बन्धी विषयमा छलफल गरेको हो। रामचन्द्र पौडेलले बिहीबार अपरान्ह २ बजे संघीय संसद बैठक आह्वान गरेपछि आवश्यक तयारीका लागि बैठक बोलाइएको थियो।बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसहित विभिन्न दलका प्रतिनिधिहरू सहभागी भएका थिए। संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा कुल २७५ सदस्य रहेका छन्। त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाल कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन्। यी सबै दलहरू राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरू हुन्।

बिहीबार बस्ने संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि आजको बैठकमा छलफल गरिएको थियो। साथै, बैठकमा सरकारका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया