श्रम तथा रोजगार कार्यालय ले श्रम कानुन उल्लंघन गर्ने दुई उद्योग–प्रतिष्ठानको खाता रोक्का गरेको छ। कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती उद्योग–प्रतिष्ठानमाथि कारबाही गरेको जनाएको छ। कार्यालय प्रमुख रुद्रनारायण साह का अनुसार विभिन्न होटल तथा उद्योगमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नाबालिकलाई श्रमिकको रूपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई २ लाख २५ हजार रुपैयाँ जरिवाना र २२ हजार रुपैयाँ क्षतिपूर्ति तिराइएको छ। अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेको पाइएको प्रमुख साहले बताए।
कार्यालयका अनुसार सोही अवधिमा प्राप्त व्यक्तिगत तथा सामूहिक ४५ वटा श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फर्छ्यौट गरिएको छ। होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत रहेका छन्।

Online Arthik










