होटल इच्छा लिमिटेड (बाराको सिमरा) को व्यवस्थापन अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल ले गर्ने भएको छ। होटल इच्छा र भारतको प्रख्यात लेमन ट्री होटलबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

यो लेमन ट्रीले नेपालमा व्यवस्थापन गर्ने तेस्रो होटल हो। यसअघि काठमाडौंमा होटल तथा चितवन मा रिसोर्ट सञ्चालन गर्दै आएको लेमन ट्रीले विराटनगर मा पनि पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेको छ, जसलाई वैशाख महिनामा उद्घाटन गर्ने योजना रहेको छ।

भारतको नयाँ दिल्ली स्थित मुख्यालय रहेको लेमन ट्रीसँग भएको सम्झौतामा होटल इच्छाका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंह ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेल को उपस्थिति रहेको थियो।

सम्झौतापछि होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालन हुनेछ। यसले बारा–सिमरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ भने अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशसँगै सेवाको गुणस्तरमा पनि उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया