दिगो विकास प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउन मिनर्जी इन्निसियटिभ्ससँग रणनीतिक साझेदारी गरेको छ। सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की तथा मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

पर्यावरण संरक्षण र हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यस सहकार्यअन्तर्गत समुदायलाई बैंकिङ पहुँचका लागि सक्षम बनाउने तथा बैंकलाई लक्षित समुदायअनुसार क्षमता अभिवृद्धि गर्न विभिन्न क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको छ।कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबीच रहेको दूरी घटाउन समुदायको वास्तविक अवस्था र बैंकिङ जोखिमको ढाँचालाई गहिरो रूपमा बुझ्ने सुदृढ पारिस्थितिक प्रणाली आवश्यक रहेको बताए। उनका अनुसार यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।देशका अग्रणी वित्तीय संस्थामध्ये एक कुमारी बैंकले आफ्नो २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १,२३३ पीओएस टर्मिनलसहितको सञ्जाल तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत यस पहललाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ।

बैंकका अनुसार ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनमा आधारित कुमारी बैंक तथा मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ र जलवायु उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया