कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका यस योजनाका कुल १ अर्ब ६० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरिने भएको हो। जसअनुसार १० अंकित दरका कुल १६ करोड इकाइ बिक्री गरिनेछ। एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल ग्रोथ फन्डका इकाइहरु आउँदो पुस ७ गतेबाट बिक्री खुला गरिने भएको छ।

 

कुल इकाइमध्ये बीजपुँजीबापत १ प्रतिशत अर्थात १६ लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेनट बैंकका लागि छुट्याइएको छ। बाँकी न्यूनतम १२ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड ६० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट खरिद आवेदन दिन सक्नेछन्।

यो योजनाका निष्कासन बन्द छिटोमा पुस १२ गते बैंकिङ समयपछि हुनेछ। मागबमोजिम आवेदन परेको खण्डमा पुस २१ गतेसम्म बिक्री खुला गरिनेछ।

यो बन्दमुखी योजना हो। यो योजनालाई धितोपत्र बार्डले गत मंसिर १८ गते निष्कासन अनुमति दिएको थियो।

समयावधि १० वर्षको रहेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड हुनेछ। उक्त अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिनसक्ने प्रक्षेपणसमेत योजना व्यवस्थापकले गरेको छ।

यस योजनाका इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई योजनाको समयावधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ।

 

तपाईको प्रतिक्रिया