नाडेप लघुवित्त वित्तीय संस्थाको बुधबार (फागुन १० गते बसेको बैठकले आउँदो चैत ८ गते वार्षिक साधारणसभा डाकेको छ। सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्था गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ।
यसअघि संस्थाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ३२ हजार ६३१.५८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको थियो। कम्पनीले १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार ६३१.६८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांश स्वीकृतिका लागि संस्थाले नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले लाभांश वितरणमा प्रतिबन्ध लगाएपछि संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव रद्द गरेको हो।
डिप्रोक्स लघुवित्तले नाडेपलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो। तर, सम्झौताबमोजिम प्राप्ति कार्य सम्पन्न हुन नसकी सैद्धान्तिक सहमति बदर भएको थियो। अब अर्को कुनै वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्तिमा नगएसम्मका लागि लाभांश वितरणमा राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ।
वार्षिक साधारणसभाका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १८ गते (फागुन १९ गते शुक्रबार र २० गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

Online Arthik










