युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले बिहीबार फेरि मुख्य ब्याजदर बढाएर ४ प्रतिशत पुर्याएको हो। यो ब्याजदर सन् १९९९ मा युरो करेन्सी लन्च गर्नुयताकै उच्च हो।
ईसीबीले लगातार १० वटा बैठकमा छलफल गरेर ब्याजदर बढाउने निर्णय गरेको हो। बढ्यो मुद्रास्फीति नियन्त्रण गर्ने अभियानअन्तर्गत ब्याजदर बढाइएको बताइएको छ। ‘यो निर्णयले महँगीलाई निर्धारित लक्ष्यभित्रै नियन्त्रण लिन सकिने अपेक्षा गरिएको छ’, ईसीबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अघिल्लो महिनासम्म युरो जोनका २० वटा मुलुकको वार्षिक मुद्रास्फीति विस्तारै घटिरहेको थियो। तर, जब यो ५.३ प्रतिशतको विन्दु स्थिर रह्यो तब ईसीबी ब्याजदर बढाउन बाध्य भएको हो। इन्धनको भाउ बढ्दा मुद्रास्फीति पनि बढ्न पुगेको हो। ईसीबीले मुद्रास्फीति २ प्रतिशतमा ल्याउने लक्ष्य राखेको थियो।
ईसीबी अध्यक्ष क्रिस्टिन लागार्डका अनुसार मुद्रास्फीतिको २ प्रतिशत लक्ष्य भेट्याउन ब्याजदर बढाइएको हो। ‘लामो समयदेखि मुद्रास्फीति उच्च छ र यो अझै उच्च स्तरमै छ’, उनले भनिन्, ‘मुद्रास्फीति विस्तारै घट्दैछ, हामी चाहन्छौँ यो मुद्रास्फीतिको घटाइले निरन्तरता पाओस्।’ –एजेन्सी

Online Arthik










