नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार (आज) बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो । पाण्डेयलाई सीईओ बनाउनका लागि अर्थमन्त्रीले बैंक सञ्चालक समितिको सदस्यमा अर्थमन्त्रालयको प्रतिनिधि परिवर्तन गरी उत्तरकुमारी खत्रीलाई पठाएका थिए । खत्रीकै जोडबल र प्रस्तावमा पाण्डेयलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

सीईओका लागि खुल्ला दरखास्त आह्वान गरिएकोमा १९ जनाले आवेदन दिएका थिए । ती १९ मध्ये पाण्डेयसँगै ५ जनाको नाम सिफारिस समितिले सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेका ५ मध्ये ४ लाई पन्छाएर सीईओ बन्न पाण्डेय सफल भएका हुन् ।

पाँच सर्टलिस्टेडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए । बैंकको निमित्त सीईओको रुपमा कार्यरत समता पन्त भट्टलाई बलियो दाबेदारको रुपमा लिइएको थियो ।

उनी सीईओको रुपमा नियुक्त हुँदा नेपाल बैंकको पहिलो महिला सीईओको गर्विलो इतिहास पनि बन्थ्यो । तर, सो अवसर गुमेको छ ।

 

तपाईको प्रतिक्रिया