सोल्टी होटल लिमिटेडले यस वर्षको २६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले पुस २६ गते सम्पन्न ४९औं वार्षिक साधारण सभाबाट उक्त नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । यस वर्ष कम्पनीले नगद लाभांशसँगै ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ ।

बोनस भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गर्ने जानकारी कम्पनीले दिएको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । हालसम्म पनि बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरूले यथासिघ्र गराई लाभांश प्राप्त गर्नुहुन कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया