नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ। नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ।

Online Arthik










