तामाकोशी पाँचौंका श्रमिकहरूले ‘सिनो हाइड्रो–केएसएनएस जेभी’को सुरीटारस्थित साइट मुख्य कार्यालयमा आज पनि धर्ना दिएका छन् ।

सिनो हाइड्रोले नेपालको प्रचलित श्रम ऐन पालना नगरी श्रमिकको श्रम शोषण गरेको भन्दै फागुन २८ गतेदेखि आन्दोलित नेपाली श्रमिकहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नभएपछि ६ दिनयता नेपाली श्रमिकहरू कामै छोडेर आन्दोलिन भएका छन् ।

आन्दोलनरत उनीहरूले हिजो आइतबार आयोजनाको सिस्नेरीमा रहेको अडिट–२ मा धर्ना दिएका थिए । नेपाली श्रमिकहरू आन्दोलित भएपछि निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाअन्तर्गत अडिट–१ र २ को कामकाज ठप्प भएको छ । आफूहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट–१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूले बताएका छन् । कम्पनीमाथि दबाब सृजना गर्न उनीहरूले ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया