मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १६.८५ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकले ८७ करोड १८ लाख २५ रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको ब्याज आम्दानी बढेपनि सञ्चालना नाफा घटेका कारण नाफामा असर परेको हो ।
गत वर्षको चैत मसान्तसम्म तीन अर्ब १३ करोड तीन लाख रुपैयाँ रहेको बैंकको ब्याज आम्दानी बढेर तीन अर्ब २८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालन मुनाफा १७.९९प्रतिशतले घटेर एक अर्ब तीन करोड ५२ लाख रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा बढेको छ । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा एक करोड दुई लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
मुनाफालाई आधार मान्दा बैंकले ८.७९ प्रतिशत बराबरको लाभांश वितरण गर्ने क्षमता राख्दछ । चालु आर्थिक वर्षको बाँकी त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा अझै बढ्ने सम्भावना रहन्छ । यसले गर्दा शेयरधनीले अपेक्षाकृत राम्रो लाभांश पाउने आशा गर्न सक्ने आधार देखिएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्नो व्यावसायिक गतिविभिमा पनि सन्तोक्षजनक प्रगति गरेको छ। बैंकको कर्जा लगानी ९७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिसम्म ११३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको खराब कर्जा बढेर ४.४१ प्रतिशत पुगेको छ । गत वर्षको बैंकको एनपीएल २.०२ प्रतिशत रहेको थियो। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्ष १६.५० प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी घटेर १३.७१ रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २६.३० गुणा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १५८.३० रुपैयाँ रहेको छ।

Online Arthik










