नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले सभा आउँदो असोज १६ गते चितवनको रत्ननगरस्थित स्टार ब्यांक्वेटमा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको १ः१ अनुपात अर्थात १ बराबर थप १ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रद सेयर जारीपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ।
नेपाल राष्ट्र बैंकको निर्देशअनुसार ख वर्गको जिल्लास्तरीय विकास बैंकलाई न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनुपर्ने भएकोले कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्ने र त्यसअनुसार हुने गरी प्रबन्धपत्र तथा नियामवलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 
सभा अर्को महत्वपूर्ण प्रस्तावका रुपमा मर्जर प्रक्रियाले पाउनेछ। सभा अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रक्रिया थाल्न आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन हुनेछ।

Online Arthik










