प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षासँगै सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरिनेछ।
गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता सम्पन्न भएको थियो भने यस वर्ष झण्डै एक महिना अगावै सम्झौता हुन लागेको हो। यसले वर्षभर गरिने कामलाई छिटो, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाह सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न यस अभ्यासलाई निरन्तरता दिइएको हो।
प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि, मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग पनि यस्तै सम्झौता गर्नुपर्ने प्रावधान रहेको छ, जसले नीतिगतदेखि कार्यान्वयन तहसम्मको जिम्मेवारी स्पष्ट पार्नेछ।

Online Arthik










