प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरहरू प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नरेश कुमार रोकाले हस्ताक्षर गर्नुभएको छ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले मिति २०८०/०२/०८ गते लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी मिति २०८०/०३/३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आएको छ। बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिहरूलाई सहज रूपमा निर्जीवन बीमा सेवा प्रदान गर्दै, आर्थिक जोखिम व्यवस्थापन र अप्रत्याशित घटनाहरू विरुद्ध आर्थिक सुरक्षा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले लक्षित वर्गको आवश्यकता र आकांक्षालाई ध्यानमा राखी विविध लघु बीमालेखमार्फत पहुँचयोग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउँदै आएको छ। हाल कम्पनीले सातै प्रदेशमा ३३ वटा कार्यालयमार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आइरहेको छ।

Online Arthik










