मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालको विकास बैंकिङ इतिहासमा पहिलो पटक डेढ अर्ब भन्दा बढी खुद नाफा आर्जन गर्दै नयाँ कीर्तिमान रचेको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्ष ३०.६९ प्रतिशतको वृद्धि भएको छ। चुस्त व्यवस्थापकीय प्रणाली, आक्रामक व्यवसाय विस्तार तथा ग्राहकमैत्री सेवाका कारण बैंकले यो उल्लेखनीय सफलता हासिल गर्न सक्षम भएको हो।

गत आवको चौथो त्रैमाससम्म बैंकको लाभांश क्षमता २.७६ प्रतिशतबाट बढेर २०.७५ प्रतिशत पुगेको छ। वितरणयोग्य मुनाफा ६५१.१५ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड पुगेको छ। यस अवधिमा बैंकले ५५ करोड ७६ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.४७ प्रतिशतले बढी हो।

बैंकको सञ्चालन मुनाफा १ अर्ब ७० करोडबाट बढेर २ अर्ब ३० करोड पुगेको छ भने खुद सञ्चालन आम्दानी ३ अर्ब ९७ करोडबाट बढेर ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। रिटेन्ड अर्निङ ६५१.१५ प्रतिशतले बढ्दै १ अर्ब ४६ करोड पुगेको छ भने रिजर्भमा ३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित भएको छ।

निक्षेप संकलन ६.९८ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ६.१० प्रतिशतले बढ्दै ९७ अर्ब ५१ करोड पुगेको छ। बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशत पुगेको छ, जुन राष्ट्र बैंकको सीमाभित्र रहेको छ। कस्ट अफ फण्ड ६.५४ प्रतिशतबाट घटेर ४.९० प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिसम्म बैंकको सिडी रेसियो ८५.७२ प्रतिशत, रिटर्न अन इक्विटी १३.७२ प्रतिशत, प्रतिसेयर आम्दानी (EPS) २१.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.९५ रुपैयाँ, मूल्य आम्दानी अनुपात (P/E) १८.६० गुणा र तरलता अनुपात २५.५७ प्रतिशत कायम भएको छ।

मुक्तिनाथ विकास बैंकको यस उत्कृष्ट वित्तीय उपलब्धिले नेपालको विकास बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको छ। बैंकले आगामी दिनमा पनि ग्राहक सेवामा नवप्रवर्तन, दिगो वित्तीय व्यवस्थापन र देशको आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया