नेपाल विद्युत प्राधिकरणले ४०औं वार्षिकोत्सवको अवसरमा साउन १५ देखि वृक्षरोपण, भलिबल, ब्याडमिन्टन, फुटसल लगायतका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। बिहीबार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं ‘घैंटो फुटाउने’ खेलमा विजयी भएका छन्। उत्सवको भव्य समापन भदौ १ गते प्रज्ञा प्रतिष्ठानमा ऊर्जामन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा हुनेछ, जसमा पुरस्कार तथा दीर्घसेवा पदक वितरण गरिनेछ।

तर, यही उत्सवको बीचमा २,८१३ दैनिक ज्यालादारी कर्मचारी भने २०७९ सालमा सञ्चालक समितिले गरेको मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय कार्यान्वयनको मागसहित केन्द्रीय कार्यालयमा आन्दोलनरत छन्। उनीहरूले साउन ८ देखि चरणबद्ध आन्दोलन थालेका छन् र माग पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवका अनुसार, “निर्णय भए पनि कार्यान्वयन नगर्ने प्रवृत्तिले कर्मचारीलाई सडकमा उत्रिन बाध्य बनाएको हो।” व्यवस्थापनले प्रक्रिया अघि बढिरहेको दाबी गरे पनि कर्मचारीहरू ठोस नतिजाको प्रतीक्षामा छन्।

तपाईको प्रतिक्रिया