सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती विधेयकमा कुलिङ पिरियड राख्ने विषयमा कर्मचारीहरूले प्रधानमन्त्रीसमक्ष दबाब दिएको बताएका छन्।

प्रेस चौतारी नेपाल कास्कीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले भने, “विधेयकमा कर्मचारीहरूले खेलेका कारण अन्तिम हस्ताक्षरको बेला राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनु परेको हो।”

उनका अनुसार, विधेयक प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जान समय लाग्ने देखिएपछि निजामती ऐन र प्रहरी ऐन छिटो पास गर्न आवश्यक भएको हो। कुलिङ पिरियडको अवधारणा सुशासन कायम राख्न महत्वपूर्ण रहेको उनले बताए।

गुरुङले थपे, “कुलिङ पिरियड नहुँदा कर्मचारीहरूले मन्त्री वा सभामुखसँग नजिकिएर जागिर सुरक्षित गर्ने प्रवृत्ति स्वार्थपूर्ण बन्न सक्छ।” उनले प्रतिनिधि तथा राष्ट्रिय सभा सञ्चालनमा समय सीमा तय गर्नुपर्ने आवश्यकतामा जोड दिए।

उनले संसदलाई “गफ गर्ने अखडा” बन्ने चेतावनी दिँदै सांसदहरूले मुख्य रूपमा विधेयक निर्माणमा ध्यान दिनुपर्ने बताए। यस सत्रमा धेरै विधेयक पास भए पनि पर्याप्त नभएको उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया