प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट) का लागि करिब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता तथा वित्तीय ढाँचा तयारीका लागि वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको हो ।
त्यसैगरी, बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको छ । यस्तै, माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को नयाँ प्रसारण लाइन रुटको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिशन प्रालिलाई सहमति प्रदान गरिएको छ ।
उक्त बैठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकारीहरूको सहभागिता थियो ।

Online Arthik










