गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध बनेका तातोपानी र रसुवा नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । चीनसँगको व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यी नाकाहरू बन्द हुँदा उद्योग, व्यवसाय र उपभोक्तामाथि प्रत्यक्ष असर परेको भन्दै चेम्बरले आगामी चाडपर्वलाई ध्यानमा राखी तत्काल पुनर्निर्माणको पहल गर्न सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गरेको हो । चेम्बरका अनुसार लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ, औषधि, खाद्यान्न, फलफूल र इलेक्ट्रोनिक्सको आयात रोकिन पुगेकाले बजारमा अभाव र मूल्यवृद्धिको जोखिम बढेको छ । दसैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै गर्दा अवरुद्ध नाकाले आयात प्रणाली प्रभावित भएको र उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने भएकाले परराष्ट्र, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समन्वय गरी तत्काल पहल गर्नुपर्ने चेम्बरले जोड दिएको छ । यससँगै, लामो समयसम्म नाका बन्द हुँदा वैदेशिक व्यापार मात्र होइन, साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि संकटमा पर्ने चेतावनी दिँदै चेम्बरले यस विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया