एशियाली विकास बैंक (ADB)ले पोखरामा सार्वजनिक यातायात सुधारका लागि महत्वपूर्ण परियोजना सञ्चालन गर्न लागिरहेको छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार, दिगो सहरी यातायात व्यवस्थापन र विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि ADB र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण नेपाललाई उपलब्ध हुने भएको छ। सो मध्ये पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी हुनेछ।
महानगर प्रमुख आचार्यले पोखरामा यो परियोजना सञ्चालनका लागि आवश्यक स्थानीय समन्वय र व्यवस्थापन महानगरपालिकाले गर्ने बताए। उनका अनुसार, परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने मात्र नभई वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ। पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै ADBले यस क्षेत्रमा यातायात व्यवस्थापनका लागि ‘इमोबिलिटी’ परियोजनालाई प्राथमिकता दिएको हो।
परियोजना अघि बढाउन नीति सम्बन्धी छलफलमा गण्डकी प्रदेश सरकार, नीति तथा योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी लगायत सरोकारवालाको सहभागिता थियो। छलफलमा चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायात सेवाको डिजिटलाइजेशन, व्यवस्थित बसस्टप पूर्वाधार निर्माण लगायतका विषयमा सुझाव राखिएका थिए।
यस्तै, पोखरालगायत गण्डकी प्रदेशमा सार्वजनिक यातायात व्यवस्थापन गर्न प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माणको तयारी भइरहेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए। ADBका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामूर्ति नेतृत्वको प्रतिनिधिमण्डल पनि छलफलमा सहभागी भएको थियो।
यो परियोजनाबाट पोखराको सार्वजनिक यातायात प्रणाली विद्युतीय र आधुनिक बनाउँदै पर्यावरणमैत्री र दिगो यातायात समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Online Arthik









