प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ का लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रमअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
उपशाखा कार्यालयको उद्घाटन कम्पनीका मानव संसाधन विभागका प्रमुख श्री विष्णु प्रसाद घिमिरेले गर्नुभयो। कार्यक्रममा स्थानीय बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, व्यवसायी, सरोकारवालासहित कम्पनीका कर्मचारीहरूको उपस्थिति थियो।
समारोहमा बोल्दै घिमिरेले भने, “लक्षित वर्गसम्म सरल र सहज तरिकाले लघुबीमा सेवा पुर्याउने कम्पनीको प्रतिबद्धता अटल छ।” साथै, बीमितलाई सेवा प्रदान गर्ने क्रममा कुनै कमी–कमजोरी नगर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिम प्रदेशमै छोटो अवधिमा कार्यालय विस्तार गर्न सफल भएको छ। महेन्द्रनगर उपशाखासहित हाल प्रदेशभित्र ६ वटा कार्यालय सञ्चालनमा छन्—
-
कैलालीको धनगढीस्थित मुख्य कार्यालय र एक्सटेन्सन काउण्टर
-
लम्की (कैलाली)
-
कञ्चनपुर
-
डडेल्धुरा
-
दार्चुला
२०७९ पौष १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त यस कम्पनीले हाल देशभर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३४ वटा कार्यालयमार्फत सेवा विस्तार गरिसकेको छ।

Online Arthik










