जेनजी आन्दोलनका क्रममा अराजक समूहले तारो बनाएको भाटभटेनी सुपरमार्केटले पुनर्निर्माणसँगै पुनः उठ्ने घोषणा गरेको छ। सामाजिक सञ्जालमार्फत भाटभटेनीले सन्देश जारी गर्दै विषम परिस्थितिका बीच पनि आशा कायम रहेको र ग्राहकहरूको साथले आफूलाई अझ मजबुत महसुस गरिरहेको उल्लेख गरेको छ। “दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं। हजारौं सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र फेरि हामीलाई उठ्न शक्ति दिइरहेका छन्,” भाटभटेनीले सन्देशमा भनेको छ। साथै, “भाटभटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं” भन्दै ग्राहकप्रतिको आभार प्रकट गरेको छ। जेनजी आन्दोलनका क्रममा अराजक समूहले देशभरका भाटभटेनीका आउटलेटहरूलाई लक्षित गरेर आक्रमण गरेको थियो।

Online Arthik









