आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा तर्पण, सिदादान र पिण्डदानका साथ समापन हुँदैछ। हिन्दु परम्परा अनुसार आजका दिन छोरा तथा नातिले आफ्ना दिवंगत पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ।

पितृपक्षको अन्तिम दिन भएकाले वर्षभरि श्राद्ध गर्न नसकेका परिवारहरूले पनि आज श्राद्ध गर्न सक्ने परम्परा छ। घर–घर तथा गंगा, तीर्थस्थानलगायत धार्मिक स्थलहरूमा पितृहरूको उद्धारका लागि श्राद्ध, तर्पण र पिण्डदान गरी दिवंगत आत्माको सम्झना गरिन्छ।

सर्वपितृ मोक्ष औँसीलाई पितृ विसर्जनको दिन मानिन्छ। श्राद्ध कर्मले पितृहरूले सन्तानलाई ऋणमुक्त गरिदिने र चित्त शुद्ध गर्ने विश्वास रहेको छ।

पितृपक्षको समापनसँगै नेपालीहरू महान् चाड बडादसैँको तयारीतर्फ अग्रसर हुने परम्परा रहेको छ।

तपाईको प्रतिक्रिया