दशैंबिदा पछि खुलेको सेयर बजारमा दोस्रो दिन पनि तीव्र बिक्री दबाब देखिएको छ। कारोबारको सुरुदेखि नै घट्न थालेको बजार २५६० अंक आसपासमा सम्हालिने प्रयास गरे पनि दोश्रो घण्टामा पुनः तीव्र गिरावट आएको हो।

समाचार तयार पार्दा सम्म बजार २.४२ प्रतिशत अर्थात् ६३.१५ अंकले घटेको थियो। कुल २ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। लगानीकर्ताहरूले पछिल्लो राजनीतिक अनिश्चितता र शीर्ष नेताहरूको सम्भावित गिरफ्तारीका कारण बजारमा नकारात्मक मनोवृत्ति देखिएको बताएका छन्।

नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) घट्दै २६०४ अंकमा पुगेको छ। आजको कारोबारमा १६ कम्पनीको मूल्य बढ्दा २३५ घटेका र एक स्थिर रहेका छन्। सबै समूहका सूचक घटेका छन्, जसमा अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशतले घटेको छ।

नेपाल पुनर्बीमाको मूल्यमा ठूलो गिरावट आउँदा बीमा समूह बढी प्रभावित भयो। बैंकिङ १.३२%, विकास बैंक २.३८%, फाइनान्स १.१२%, होटल तथा पर्यटन २.७२%, हाइड्रोपावर २.७४%, लगानी १.९१%, जीवन बीमा १.८६%, उत्पादन तथा प्रशोधन १.८५%, माइक्रोफाइनान्स १.८७%, निर्जीवन बीमा २.०४% र व्यापार समूह १.१७% घटेका छन्।

भूगोल इनर्जीको मूल्य १०% ले घट्दै सबैभन्दा धेरै गिरावटमा परेको छ। नेपाल पुनर्बीमा ८.५७%, माथिल्लो मैलुङखोला ७.२१% र पञ्चकन्या माइ हाइड्रोपावर ६.८७% ले घटेका छन्।

तर ऋणपत्र बजारमा लगानीकर्ताको आकर्षण देखियो। सेन्चुरी डिबेन्चर १०%, एनआईसी एशिया ऋणपत्र ९.११% र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९% ले बढेका छन्।

आज धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन्।

तपाईको प्रतिक्रिया