इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपाली नागरिक विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको छ।
इसरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार केहीबेरअघि आइडिएफका अधिकारीहरूले विपिनको परिवार र इसरायलस्थित नेपाली दूतावाससँग भिडियो कन्फरेन्स गर्दै यो जानकारी दिएका हुन्।
“आइडिएफले हामी र विपिनको परिवारसँग भिडियो कुराकानी गरेर ‘He is no more’ भन्ने औपचारिक जानकारी दियो,” राजदूत पण्डितले बताए।
भिडियो कुराकानीमा विपिनकी आमा पद्मा जोशी, बहिनी पुश्पा जोशी (अमेरिकाबाट), परिवारका अन्य सदस्य किशोर जोशी, राजदूत पण्डित र आइडिएफका अधिकारी सहभागी थिए।
पण्डितका अनुसार, आइडिएफले केही जिवित बन्धकहरू छिट्टै मुक्त हुने र केही मृतकको शव अझै फेला नपरेको पनि जानकारी दिएको छ।
तर, परराष्ट्र मन्त्रालयले भने आइडिएफको यो जानकारी अन्तिम पुष्टि नभएको आकलन हुन सक्ने जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “आइडिएफको पनि आकलन मात्र हो। विगतमा पनि उनीहरूले दिएको विवरण फरक आएको थियो। हामी अझै पनि विपिन सकुशल रिहा हुनुहुन्छ भन्नेमा आशावादी छौं।”

Online Arthik










