सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक सुरु भएको छ।
सभामुख घिमिरेले प्रतिनिधि सभा विघटनबारे दलहरूको धारणा लिन सर्वदलीय बैठक आयोजना गरेका हुन्। संसद पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि नजानु भन्ने विषयमा दलहरूको राय माग्ने उद्देश्यले बैठक बोलाइएको हो।
विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल रहेका थिए। साथै जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी पनि बैठकमा सहभागी छन्। तर, रास्वपा भने छलफलमा अनुपस्थित रहेको छ।
दलहरूको धारणा संकलनपछि सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जानेबारे सरोकारवालाहरूबाट सभामुखलाई दुवै प्रकारका सुझाव प्राप्त भएको स्रोतले जनाएको छ। दलहरू र कानूनी क्षेत्रका विज्ञहरूसँग परामर्श लिएर अन्तिम निर्णय गर्ने सभामुखको तयारी रहेको बुझिएको छ।

Online Arthik










