ग्लोबल आइएमई बैंक लिमिटेडलाई ग्लोबल फाइनान्स म्यागजिनले ‘बेस्ट बैंक इन नेपाल २०२५’ को सम्मान प्रदान गरेको छ। अमेरिकाको वासिङ्टन डीसीमा आयोजित एक विशेष समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले उक्त पुरस्कार ग्रहण गरेका हुन्।

बैंकका डेपुटी सीईओ सुमन पोखरेलले सामाजिक सञ्जालमार्फत यो उपलब्धि साझा गर्दै बैंकको सफलताको श्रेय कर्मचारी, सञ्चालक समिति, ग्राहक, सेयरहोल्डर, स्टेकहोल्डर र नियामक निकायलाई दिएका छन्।

उनले लेखेका छन्, “यो सम्मान त्यसबेला प्राप्त भएको हो, जब बैंकिङ क्षेत्र जटिल आर्थिक परिवर्तन, विकसित नियमन र ग्राहकको बढ्दो अपेक्षाबाट चुनौती सामना गरिरहेको छ। यस्ता क्षणहरूले हाम्रो लचिलोपन, नवप्रवर्तन र सहकार्य नै साँचो भिन्नता ल्याउने कारक हुन् भन्ने विश्वासलाई पुनः पुष्टि गर्छ।”

ग्लोबल आइएमई बैंकले सन् २०२४ मा पनि यही सम्मान प्राप्त गरेको थियो। लगातार दोस्रो वर्ष यो पुरस्कार जित्न सफल बैंकले आफ्नो उत्कृष्टता, नवप्रवर्तन र सबै सरोकारवालाहरूका लागि मूल्य सिर्जना गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताएको छ।

नेपालको बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकले आफ्नो रणनीतिक दृष्टिकोण, कुशल व्यवस्थापन र ग्राहककेन्द्रित सेवामार्फत बलियो उपस्थिति कायम गर्न सफल भएको छ। यो अन्तर्राष्ट्रिय पुरस्कारले बैंकको नेतृत्व र समर्पणलाई विश्वव्यापी मान्यता प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया