आदिदेव सूर्यको आराधनामा मनाइने महापर्व छठको दोस्रो दिन आज देशभर श्रद्धा र भक्ति भावका साथ खरना मनाइँदैछ। दिनभर उपवास बसेका ब्रतालुहरूले साँझपख चामल, दूध र सक्खर मिसाएर पकाइएको खीर प्रसादस्वरूप ग्रहण गर्दै खरना सम्पन्न गर्ने परम्परा रहेको छ। उक्त प्रसाद परिवारका सबै सदस्यले ग्रहण गर्ने र छठ नमनाउने घरमा वितरण गर्ने चलन पनि छ।

चार दिनसम्म मनाइने छठ पर्व हिजो शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो। आज खरनापछि भोलि सोमबार छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको विधिवत समापन गरिनेछ।

छठमा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार, हाँडी लगायतका सामग्री चढाइने परम्परा छ। प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, मिठाई र विभिन्न फलफूल अर्पण गरिन्छ।

अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा पालन गर्छन्। अत्यन्त निष्ठा, पवित्रता र नियमअनुसार सम्पन्न गरिने भएकाले छठलाई नेपाली समाजमा सबैभन्दा कठिन र निष्ठापूर्ण पर्वमध्ये एक मानिन्छ।

तपाईको प्रतिक्रिया