हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु (Hyundai Venue) सार्वजनिक गरेको छ। नयाँ भेन्युमा बाहिरी डिजाइनदेखि आन्तरिक क्याबिनसम्म व्यापक परिवर्तन गर्दै आधुनिक प्रविधि र प्रिमियम लुकलाई प्राथमिकता दिइएको छ। अगाडिको भागमा क्रोम इन्सर्टसहित आयताकार ग्रिल, ठाडो क्वाड–बीम एलईडी हेडलाइट, सी आकारको डीआरएल, र थ्री–डी भेन्यु लोगो राखिएको छ। पछाडिको भागमा कनेक्टेड टेललाइट क्लस्टर, र साइड प्रोफाइलमा १६ इन्च अलोय ह्विल तथा सी-पिलरमा सिल्भर इन्सर्ट दिइएको छ। रग्ड लुक दिनका लागि अगाडि र पछाडि फक्स स्किड प्लेट थपिएको छ।
क्याबिन पूर्ण रूपमा पुनःडिजाइन गरिएको छ। यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, ४-वे पावर ड्राइभर सिट, वायरलेस चार्जर, र एम्बियन्ट लाइटिङ जस्ता प्रिमियम सुविधा समावेश छन्। सुरक्षाका लागि अगाडि र पछाडि एयरब्याग, एबीएस, ईबीडी, र ईएससी प्रणाली उपलब्ध छन्।
नयाँ भेन्युमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल, र १.५ लिटर डिजेल इन्जिनका विकल्प उपलब्ध छन्। टर्बो पेट्रोल इन्जिनले अधिकतम १२० पीएस शक्ति उत्पादन गर्छ। पहिलोपटक डिजेल भेरियन्टमा ६-स्पिड अटोमेटिक गियरबक्स दिइएको छ भने म्यानुअल भेरियन्टले २०.९९ किमी प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ।
यो नयाँ एसयूभीले भारतीय बजारमा महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन, मारुती ब्रेजा, स्कोडा कुसोक, तथा किया सोनेट जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

Online Arthik









