एनआईसी एशिया बैंक लिमीटेडको खराब कर्जाको अनुपातमा क्रमिक सुधार देखिएको छ। बैंक व्यवस्थापनले रिकभरी (कर्जा असुली) मा जोड दिएपछि खराब कर्जाको स्तर घट्दै गएको हो। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात १.७४ प्रतिशत मा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २.०८ प्रतिशत थियो। यसरी खराब कर्जा अनुपातमा १६.३४ प्रतिशत सुधार भएको बैंकको अपरिस्कृत वित्तीय विवरणले देखाएको छ।
खराब कर्जामा सुधारसँगै बैंकको नाफामा पनि वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड रुपैयाँ खूद नाफा कमाएको बैंकले चालु वर्षको सोही अवधिमा १२ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यद्यपि, खूद ब्याज आम्दानी भने घटेर २ अर्ब ५५ करोडबाट २ अर्ब २८ करोडमा सीमित भएको छ, जसको मुख्य कारण ब्याजदरमा आएको गिरावट हो।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १७ करोड ३८ लाखबाट बढेर १९ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले कर्जा तथा सम्भावित नोक्सानी व्यवस्थापनका लागि १ अर्ब १८ करोड ६४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज को रूपमा छुट्याएको छ, जुन अघिल्लो वर्षको १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ भन्दा बढी हो।
नाफा वृद्धि भएपछि बैंकको प्रतिसेयर आम्दानी (EPS) अघिल्लो वर्षको २.९१ रुपैयाँबाट बढेर ३.२१ रुपैयाँ कायम भएको छ। त्यस्तै, रिटर्न अन इक्वीटी (ROE) १.४३ प्रतिशतबाट बढेर १.६२ प्रतिशत र रिटर्न अन एसेट (ROA) ०.११ प्रतिशतबाट बढेर ०.१२ प्रतिशतमा पुगेको छ। बैंकको कस्ट अफ फण्ड ४.६० प्रतिशत र सीडी रेसियो ६६.०८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको ६.३० प्रतिशत र ७९.१४ प्रतिशत भन्दा सुधारिएको हो।
तर, अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य घाटा व्यहोरेको बैंकको घाटा समीक्षा अवधिसम्ममा बढेर ६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। निक्षेप र कर्जा अवस्थाको दृष्टिले हेर्दा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँभन्दा बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ खर्ब १९ अर्ब निक्षेप संकलन र २ खर्ब २४ अर्ब कर्जा प्रवाह गरिएको थियो। यसरी निक्षेपमा सुधार भए पनि कर्जा प्रवाह घटेको देखिन्छ, जसको कारण नयाँ कर्जा विस्तारभन्दा पुरानो कर्जाको रिकभरीमा जोड दिनु रहेको बताइन्छ।
समीक्षा अवधिमा बैंकको प्रति सेयर नेटवर्थ रु. १९८.७४, मूल्य आम्दानी अनुपात ९७.७३ गुणा, तरलता अनुपात ४३.४२ प्रतिशत, र कुल सम्पत्तिमा प्रतिफल ०.१२ प्रतिशत कायम भएको छ। बैंकको यो नतिजा पछिल्लो त्रैमासमा जोखिम व्यवस्थापन र कर्जा असुलीमा देखिएको सक्रियताले ल्याएको सुधारको संकेतका रूपमा हेरिएको छ।

Online Arthik









