स्मार्ट डोर्स लिमिटेडले जारी पूँजी तथा सर्वसाधारणका लागि छुट्याइने आईपीओको प्रतिशत परिवर्तन गर्ने उद्देश्यले विशेष साधारण सभा डाकेको छ। मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते काठमाडौंको टोखास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा प्रबन्धपत्रको दफा ६ संशोधन गरी जारी पूँजी र सर्वसाधारण सेयरधनीलाई छुट्टाइने सेयरको प्रतिशत परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिने कम्पनीले जानकारी दिएको छ। कम्पनीको आईपीओ प्रक्रिया नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा रहेको छ। स्मार्ट डोर्सले २०८१ वैशाख ३ गते ३ करोड ६ लाख रुपैयाँ बराबरको प्रति सेयर अंकित दर रु. १०० का ३ लाख ६ हजार कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

Online Arthik










