सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिक साधारण सभा (एजिएम) आज काठमाण्डौको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेबाट सुरु हुँदैछ। सभामा गत आवका लागि सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै, बैंकको अधिकृत, चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने प्रक्रिया सुचारु राख्न तथा प्रबन्धपत्र–नियमावलीमा नियामक निकायबाट आवश्यक संशोधन निर्देशन आएमा सोही बमोजिम परिवर्तन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभामा आव २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसँगै २०८२ असार मसान्तको एकीकृत वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पेश गरी अनुमोदन गरिनेछ। चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उहाँको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुँदैछ।
साथै, सभामा संस्थापक समूह ‘क’ बाट १ जना तथा सर्वसाधारण समूह ‘ख’ बाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिने कार्यक्रम छ।

Online Arthik










