सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर १२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आफ्नो २१औं वार्षिक साधारण सभा पुस ७ गते बिहान साढे १० बजे काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा गर्ने भएको छ। सभामा आव २०८१/८२ का लागि सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गरी कुल १०.३५८३ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने वा प्राप्ति गर्ने तथा सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि राखिनेछ। यससँगै वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। आगामी आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्रै लाभांश प्राप्ति र सभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik










