नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले स्थापनाको २९औं वार्षिकोत्सवका अवसरमा विभिन्न अवार्ड तथा पुरस्कार वितरण गरेको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सेजनले विभिन्न विधातर्फ सम्मान प्रदान गरेको हो। सेजनका अनुसार एक लाख रुपैयाँ राशिको सेजन अवार्ड नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई ‘पूर्वविशिष्टहरूको सेवा बढाएर तयार गरिएको विधेयक’ र त्यसको फलोअप समाचारका लागि तथा अनलाइनखबरका भुवन पौडेललाई ‘दीपेन्द्र अग्रवालको कारोबार–आफूले बेचेको सेयर आफैँ किन्ने, महँगोमा जनता फसाउने’ शीर्षकको समाचारका लागि प्रदान गरिएको छ। त्यसैगरी, ५० हजार रुपैयाँ राशिको छापामाध्यमतर्फको सेजन अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई ‘टुक्रे आयोजनामा बजेट विनियोजन’ शीर्षकका समाचारका लागि दिइएको छ भने डिजिटलमाध्यमतर्फ ५० हजार रुपैयाँको अवार्ड बिजमाण्डूका सुनिल कुँवरलाई ‘आईपीओका नाममा प्रिमियम पैसा उठाएर कर छली’ विषयक समाचारका लागि प्रदान गरिएको छ। साथै, एक लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड अन्नपूर्ण डटकमकी सुनिता कार्कीलाई ‘एकीकृत फोहोर व्यवस्थापन परियोजना १४ वर्षदेखि अलपत्र’ शीर्षकका समाचारका लागि र नेपालन्यूजका उद्धव थापालाई ‘मुआब्जाको पासोमा ठूला परियोजना’ समाचारका लागि प्रदान गरिएको छ। वार्षिकोत्सवकै अवसरमा दिवंगत पूर्वउपाध्यक्ष सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको एक लाख रुपैयाँ राशिको लेखनवृत्ति गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई ‘महाभूकम्प, कोभिड–१९, बाढी तथा जेनजी आन्दोलनले लघु, घरेलु तथा साना उद्योगमा पारिरहेको प्रभाव’ विषयक उत्कृष्ट अनुसन्धान प्रस्तावका आधारमा प्रदान गरिएको छ। समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरे। सोही अवसरमा दिवंगत पूर्वकार्यसमिति सदस्य सागर घिमिरेको स्मृतिमा आयोजित फुटसल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीहरूलाई पनि पदक, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको छ, जसअन्तर्गत विजेता पुरुष र महिला टोलीले जनही १५ हजार रुपैयाँ प्राप्त गरे भने पुरुष उपविजेता टोलीले १० हजार रुपैयाँ पाएको छ। प्रतियोगिताका उत्कृष्ट गोलकर्ता उजिर कार्कीलाई दुई हजार ५०० रुपैयाँसहित गोल्डेनबुट तथा उत्कृष्ट गोलरक्षक केदारप्रसाद दाहाललाई गोल्डेन ह्यान्ड प्रदान गरिएको छ। फुटसल प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ २ टोलीको सहभागिता रहेको सेजनले जनाएको छ।

तपाईको प्रतिक्रिया