साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २५ गते २४ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा डाक्ने निर्णय गरेको हो ।
सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेर १५ मिनेटदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै संस्थाको हाल कायम अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ८ अर्ब रुपैयाँ पुर्याउने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्ने तथा चालु आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समेत समावेश छन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Online Arthik









