दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छताको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम काठमाडौंमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सँगको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो । दिगो पर्यटन विकासमा खाद्य सुरक्षा र स्वच्छता अत्यन्तै संवेदनशील र आधारभूत पक्ष भएको उल्लेख गर्दै एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका होटल तथा रेस्टुरेन्टहरूमा खानपान सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
उनका अनुसार सुरक्षित र स्वच्छ खानपान सुनिश्चित हुन नसके पर्यटकको स्वास्थ्यमा जोखिम मात्र नभई देशको पर्यटन छवि र विश्वसनीयतामा समेत गम्भीर असर पर्न सक्छ ।
‘खाद्यजन्य रोग, अस्वच्छ भान्सा, गलत भण्डारण तथा खाना तयारी प्रक्रियाले पर्यटन क्षेत्रमा दीर्घकालीन नोक्सानी पुर्याउन सक्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न र उनीहरूको बसाइ अवधि लम्ब्याउन खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नु अपरिहार्य छ ।’स्वच्छता र सुरक्षाका मापदण्ड पालना गर्ने गन्तव्यलाई पर्यटकहरूले सुरक्षित, जिम्मेवार र गुणस्तरीय गन्तव्यका रूपमा लिने उल्लेख गर्दै दवाडीले यसले पुनः भ्रमण र सकारात्मक प्रचारमा समेत योगदान पुर्याउने बताए ।
खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम र सचेतना कार्यक्रमलाई केवल प्राविधिक अभ्यास मात्र नभई नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन, विश्वासिलो र प्रतिस्पर्धी बनाउने रणनीतिक लगानीका रूपमा लिनुपर्ने उनको भनाइ छ । डिसेम्बर १८ देखि सुरु भएको दुईदिने तालिममा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापन टोलीका सदस्य तथा सेफहरूको सहभागिता रहेको छ । तालिममा खाद्य सुरक्षा मापदण्ड, स्वच्छता अभ्यास, सुरक्षित खाना तयारी र पर्यटकमैत्री सेवा गुणस्तरका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिनेछ ।

Online Arthik









