वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा आयात १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोडले वृद्धि भएको हो। गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक करोड मूल्य बराबरका सामान आयात भएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। सो अवधिमा रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसैगरी, रु ३१ अर्ब ६५ करोडको फलाम तथा फलामजन्य सामग्री, रु २४ अर्ब ६० करोड मूल्य बराबरका मेसिनरी तथा पार्टपुर्जा र रु २२ अर्ब ८५ करोड मूल्यको भटमासको कच्चा तेल आयात भएको छ।

Online Arthik









