सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज पुस ९ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताहरूलाई सेयर बिक्री खुला गरेको हो ।नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले कुल जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको साधारण सेयर निष्काशन गरिरहेको छ । यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्रीमा ल्याइएको छ ।
निष्काशन गरिने सेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार रुपैयाँ बराबरका ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका स्थानीय बासिन्दाहरूका लागि सुरक्षित गरिएको छ । साथै सर्वसाधारणका लागि छुट्याइने सेयरमध्ये १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आरक्षित गरिएको छ ।आईपीओमा आवेदन दिने लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म सेयर माग गर्न सक्नेछन् । स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि पुस २३ गतेसम्म तोकिएको छ । सो अवधिमा सेयर पूरै बिक्री नभएमा आवेदन म्याद माघ ८ गतेसम्म थपिनेछ ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले ज्योति विकास बैंक समुन्द्रटार, कृषि विकास बैंक खैरेनीटार, राष्ट्रिय वाणिज्य बैंक खैरेनीटार, थापाथलीस्थित ट्रेड टावरको रजिष्टर्ड कार्यालय तथा दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Online Arthik










