नागरिक लगानी कोष (सीआईटी) ले ३१औं वार्षिक साधारण सभा आह्वान गरेको छ। पुस ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा डाक्ने निर्णय गरेको हो।

निर्णयअनुसार साधारण सभा आगामी पुस ३० गते बुधबार काठमाडौँको नयाँ बानेश्वरस्थित कोषको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभामा कोषको सञ्चालक समितिद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।यसका साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ। साथै, एक जना सञ्चालकको निर्वाचन गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरूको तर्फबाट १/१ जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया