माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ। युरोपेली मुलुकमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज बनाउने उद्देश्यका साथ बैंकले स्मार्ट पेसँग सहकार्य गर्दै विधिवत रूपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो। यो सम्झौतामार्फत साइप्रस, ग्रीस, पोर्चुगल तथा अन्य सबै युरोपेली देशबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने व्यवस्था गरिएको छ।
रेमिट्यान्स सम्बन्धी सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि युरोपेली देशमा रहेका नेपालीहरूले साइप्रस, ग्रीस, पोर्चुगल तथा अन्य युरोपेली मुलुकबाट स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप तथा अनलाइन सेवामार्फत एमबीएल रेमिट गरी नेपाल रकम पठाउन सक्नेछन्। यसरी पठाइएको रेमिट्यान्स माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत देशभर सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ।
त्यस्तै, स्मार्ट पे र एमबीएल रेमिटमार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि माछापुच्छ्रे बैंकले मिलाएको छ। यस सहकार्यले युरोपबाट नेपाल आउने रेमिट्यान्सलाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा बैंकले गरेको छ।

Online Arthik










