आज मिति २०८२/०९/१४ सोमबार, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा होटल उषार्टी, विराटनगर, मोरङमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री उदय श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो। साधारण सभामा सहभागी शेयरधनी, आमन्त्रित अतिथि तथा नियामक निकायका प्रतिनिधिहरूलाई स्वागत गर्दै अध्यक्षले आ.व. २०८१/८२ को वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन र अन्य प्रस्तावहरू अनुमोदनका लागि सभामा प्रस्तुत गरे। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विजय भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको प्रगति, भावी कार्यक्रमहरू र स्थापना कालको तेस्रो वर्षमा रु. ४,०७,५८,५४२.०७ खुद नाफा आर्जन गरेको जानकारी दिनुभयो। साथै, शेयरधनीहरूले सभामा उठाएका प्रश्नहरूको जवाफ पनि दिइयो। विशेष अतिथि नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख श्री त्रिवेणी देव उपस्थित रहनुभयो भने सभाको सञ्चालन कम्पनी सचिव श्री ज्योति प्रकाश पाण्डेले गर्नुभयो। साधारण सभामा प्रस्तुत सबै प्रस्तावहरू छलफलपछि सर्वसम्मत पारित भए। सामान्य प्रस्तावहरू अन्तर्गत आ.व. २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित भएको छ। आ.व. २०८२÷०८३ का लागि बाह्य लेखापरीक्षकको रूपमा नेहा एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त गर्ने, रिक्त संचालक पदमा श्री नवराज सुक्का निर्विरोध निर्वाचित हुने, लाभांश वितरण नगर्ने र ग्रामीण क्षेत्रमा विपन्न महिलाहरूको मातृ–शिशु स्याहार तथा सुत्केरी खर्चका लागि रकम उपलब्ध गराउने प्रस्तावहरू सर्वसम्मत पारित भएका छन्। विशेष प्रस्तावहरू अन्तर्गत चुक्ता पूँजी रु. ७५ करोडको १०० प्रतिशत (१:१) हकप्रद शेयर जारी गर्न, नियामक निकायको निर्देशन अनुसार पूँजी वृद्धि गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन वा थपघट गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने निर्णयहरू सर्वसम्मत पारित भएका छन्। यसरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभाले कम्पनीको वित्तीय स्थिरता, सामाजिक उत्तरदायित्व र भविष्यका योजनाहरू सुनिश्चित गर्ने महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

तपाईको प्रतिक्रिया