धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) सुरु भएको छ। केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी) को आयोजनामा सम्मेलन सञ्चालन भइरहेको हो।
आयोजकका अनुसार यो कार्यक्रम क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गतको दोस्रो चरण हो। पछिल्लो दुई वर्षदेखि आयोजना हुँदै आएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै यस वर्ष ‘एआई कन्क्लेभ’ को आयोजना गरिएको हो।
क्लबका अध्यक्ष अशिम श्रेष्ठ का अनुसार सम्मेलनको मुख्य उद्देश्य एआई क्षेत्रमा सिकाइदेखि नवप्रवर्तनसम्मका गतिविधिलाई एउटै प्लेटफर्ममा समेट्नु हो। उनले एआईलाई केवल अनुसन्धान वा जेनरेटिभ टुलमा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन, उद्योग र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य रहेको बताए।‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको सम्मेलनले विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ।तीन चरणमा सञ्चालन हुने ‘एआई कन्भर्जेन्स–२०२६’ को पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश गरिएको थियो। दोस्रो चरणको रूपमा ‘एआई कन्क्लेभ’ माघ २९, ३० र फागुन १ गते (जनवरी १२, १३ र १४) केयू केन्द्रीय कार्यालयमा सञ्चालन हुँदैछ।
सम्मेलनअन्तर्गत सोमबार नेसनल लेभल एआई समिट, मङ्गलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स तथा एक्सपो आयोजना हुनेछन्। बुधबार ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल डिस्कसन, ई–गेम्सको फिनाले, एआईसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा एआई नीतिमाथि छलफल गरिने आयोजकले जनाएको छ।तीनदिने ‘एआई कन्क्लेभ–२०२६’ मा करिब पाँच हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ।

Online Arthik










