पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आजदेखि बन्द गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत पुस २५ गतेदेखि आईपीओ निष्कासन गरेको थियो।
नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गरिरहेको छ।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको छ। त्यसैगरी, कुल साधारण सेयरको १५ प्रतिशत अर्थात् ५६ करोड २५ लाख रुपैयाँ बराबरको ५६ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि सार्वजनिक निष्कासन गरिएको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गतेसम्म खुला रहनेछ।

Online Arthik










