नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू पारित गरिएको छ।

सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र चुनौतीका बाबजुद क्रमशः लचिलो बन्दै गएको उल्लेख गर्दै कोभिड महामारी र भू–राजनीतिक कारणले सिर्जना भएको मुद्रास्फीतिको दबाब कम हुँदै गएकाले अधिकांश केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति अपनाएको बताए। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान भए पनि २०८२/८३ मा राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण वृद्धि दरमा दबाब पर्न सक्ने देखिन्छ।

कम्पनीको व्यवसाय समीक्षा वर्षमा सन्तोषजनक रहेको जनाउँदै अध्यक्षले कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २,२५९.३७ करोड रुपैयाँ पुगेको जानकारी दिए। समीक्षा वर्षमा कूल बीमा करार दायित्व १८.८३ प्रतिशतले बढेर ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ भने ९४८.६५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ।

लगानीतर्फ कम्पनीको कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७,७९०.२० करोड रुपैयाँ पुगेको छ। कम्पनीको औसत लगानी प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ। लगानी विविधीकरणअन्तर्गत कम्पनीले हिमालयन बैंक लिमिटेडको १३.६१ प्रतिशत संस्थापक शेयर स्वामित्व कायम गरेको छ।

साधारण सभाले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउने नियामकीय व्यवस्थाअनुसार ८.५ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कूल १२.५ प्रतिशत लाभांश पारित गरेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया