राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन्। उनी निकट स्रोतका अनुसार शाहले आजै राजीनामा दिने तयारी गरेका थिए, तर विभिन्न अनिश्चितताका कारण तत्काल राजीनामा नदिने निर्णय लिएका हुन्।
उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्था रहेकाले पनि उनले राजीनामा होल्ड गरेको बताइएको छ। बालेन निकट एक नेताले भने, “राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने भन्ने निश्चित भइसकेको छैन। कांग्रेस अदालत गएको छ, त्यहाँ केही निर्णय आउन सक्छ, भोलि चुनाव सर्ने सम्भावना पनि हुन सक्छ। यही अनिश्चितताका कारण अहिले राजीनामा होल्ड गरिएको हो।”
मेयर पदबाट राजीनामा नदिई बालेन शाह केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर जाने तयारीमा छन्। उनी झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका छन्। निर्वाचन आयोगले पर्सि (माघ ६) उम्मेदवारी दर्ताको समय तोकेको छ, जसअनुसार दलहरू उम्मेदवार टुंग्याउने प्रक्रियामा जुटेका छन्।
यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ। बैठकअघि वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्ने कार्यक्रम छ। पार्टी कार्यालयमा अहिले नेता–कार्यकर्ताको भीड बढ्दै गएको छ। नेताहरूका अनुसार शाह दिउँसो १ बजे कार्यालय पुग्नेछन्।
२ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुने र पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ। मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने कार्यक्रम तय भएको छ।

Online Arthik










